भारतको राजधानी दिल्लीमा वायु प्रदुषण उच्च भएसँगै विद्यालयहरु बन्द गरिएको छ। दिल्ली सरकारले विद्यालय शुक्रबारबाट बन्द गर्ने निर्णय गरेको हो।

दिल्लीमा पछिल्लो एक महिनामा प्रदूषणको स्तर लगातार बढिरहेको छ। बिहीबार पनि प्रदूषणको स्तर ६ सय भन्दा माथि पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दिल्ली सरकारका मन्त्री गोपाल रायले विद्यालय बन्द गर्ने निर्णयबारे जानकारी दिए। 'वर्तमानमा प्रदूषणको स्तरलाई हेर्दै दिल्लीका सबै स्कूल भोलिबाट अर्को आदेश नआउँदासम्म बन्द रहने छ।'

नोभेम्बर महिनामा दिल्ली विगत छ वर्षयता सबैभन्दा प्रदूषित शहर बनेको छ।

नोभेम्बरका ११ दिन दिल्लीको वायु प्रदूषणको स्तर अत्यधिक खराब रहेको थियो जुन सन् २०१६ को नोभेम्बरको १० दिनभन्दा बढी हो। तथ्याङ्कले नोभेम्बरमा एक दिन पनि दिल्लीमा राम्रो वायुको स्तर नभएको देखाएको छ।

विज्ञहरूले नजिकका राज्यहरूमा खेतमा पराल जलाउँदा र दिपावालीका कारण नोभेम्बरमा वायु प्रदूषण उच्च भएको बताउँछन्। तर कतिपयले भने किसानहरुलाई मात्र दोष दिइएको र प्रदूषण नियन्त्रणका लागि सरकारले कुनै प्रयत्न नगरेको आरोप लगाउने गरेका छन्।

दिल्लीमा पीएम २.५ भनिने प्रदूषकको स्तर विश्व स्वास्थ्य सङ्गठनले सुरक्षित भनी तोकेकोभन्दा निकै माथि छ।