मेरो आधा आकाश

मेरो सपनाको आकाश

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अँध्यारा हुने गर्छन अचेल

मेरा रहरका पुरुष पैतालाहरु

काँप्ने गर्छन अचेल

म ‘म’ हुनुको यथार्थले

तिमी तिमी हुँदा फरक पार्छ अचेल

म तिमीलाई विश्व भन्छु,

तिमीलाई मेरो आकाश ठान्छु

तिमीसँगको सामीप्यतालाई म सबथोक मान्छु

तिमी मलाई काँढा देख्छ्यौ

मेरो उपस्थितिको संत्रासले सताउँछ तिमीलाई

तिम्रा आँखा मेरा आँखामा जुध्दैनन अचेल

डर र त्रासले किन घुर्छन अचेल तिम्रा आँखा मलाई ?

तिमी मलाई निर्दयी देख्छौ?

तिम्रा मन्दिरहरुमा अपवित्र छु म

तिम्रा सपनाहरुमा रक्तविहिन हुँ म

तिमी मलाई राक्षसको दर्जा दिन्छौ

मा तिमीलाई फूल भन्छु

मलाई थाहा छ,

कोहि आउने गर्छ तिम्रा समीप

छुने गर्छ तिमीलाई दुख्ने गरि

दिनेगर्छ तिमीलाई चोट

खेल्ने गर्छ तिम्रा भावनासँग

म आँफैमाथि अग्निबर्षा गर्छु

मैजस्तो रुपकाले ‘तिमी’ हुनुको लुट्छ होला फाइदा

तिम्रा बाटाहरुमा ओछ्याएर भ्रमको फूल

छेक्न खोज्छ होला तिम्रो उज्यालो भोलि

म त्यो होइन, त्यो हुँदै होइन

म तिमीलाई मेरो आकाश ठान्छु

म तिमीलाई प्रेम गर्न चाहन्छु

स्नेहले अँगाल्न चाहन्छु

शिखर सम्मान दिन चाहन्छु

म ‘म’ भएकै कारण तिमीबाट टाढा रहन चाहन्न

म त्यो राक्षस होइन

त्यो म होइन म त्यो होइन

त्यो त मेरो लागि पनि एउटा कुरूप पात्र हो

बहिनीहरुको हाउगुजी हो

दिदीहरुको भक्षक हो

आमाहरुको अभिसाप हो

त्यो त मेरो समाजको कालो हो

आऊ बरु सँगै मिलेर पखालौँ त्यो कालो

नछल आँफैलाई उज्यालोबाट

सँगै मिलेर परास्त गरौँ ती राक्षसीपनहरुलाई

पर्दाफास गरिदेउ दुराचारीको दुश्चरित्रलाई

आऊ मिलाऔं दह्रिला हातहरु

धपाऔं मैलो र फोहोरलाई

हामी सधैँ स्नेह साटासाट गरौँ

मलाई निर्वाध माया गर्न देउ

तिमी निर्वाध मेरो समीप आऊ

हाम्रो सानो संसार सधैँ सुन्दर बनाऔं

आऊ मिलेर बनाऔं सिंगो आकाश

तिमी मेरो आधा आकाश

म तिम्रो आधा आकाश

कवि : लेखराज ढकाल उर्लाबारी मोरंग

तपाईहरु पनि आफ्ना लेख तथा साहित्यहरु हामीलाई पठाउन सक्नुहुन्छ हामी प्रकासित गर्नेछौं।