साउदी अरबमा यस वर्षकै सबैभन्दा ठुलो सामूहिक मृत्युदण्ड दिइने भएको छ ।आतङ्कवादको अभियोगमा दोषी ठहर भएका ५ जनालाई सामूहिक फाँसी दिइन लागिएको हो ।

मिडियाका अनुसार यी अपराधीहरूले मस्जिदमा आक्रमण गरेका थिए । यस आक्रमणमा पाँच जनाको ज्यान गएको थियो भने कैयौँ घाइते भएका थिए । यी पाँच दोषीमध्ये चार साउदी र एक इजिप्टका नागरिक थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आधिकारिक साउदी प्रेस एजेन्सीले प्रकाशित गरेको आन्तरिक मन्त्रालयको विज्ञप्तिमा आक्रमण कहिले भएको हो वा पूजा स्थललाई कसरी निशाना बनाइएको थियो ? भन्ने विषय चाहिँ उल्लेख गरिएको छैन।

मृत्युदण्ड दिने विधिबारे पनि विस्तृत जानकारी दिइएको छैन तर विगतमा साउदी अरबमा टाउको काटेर मृत्युदण्ड दिइने गरेको घटना सार्वजनिक भइरहेका हुन्थे, जसकाकारण यो सामूहिक मृत्युदण्ड पनि सामूहिक रूपमा टाउको काटेर दिइने अनुमान गरिएको छ ।

यससँगै साउदी अरेबियाले यस वर्ष अहिलेसम्म मृत्युदण्डको सजाय पाएको कुल सङ्ख्या ६८ पुगेको छ । प्रतिवेदनले आतंकवादसँग सम्बन्धित अपराधका लागि मेको सुरुदेखि २० भन्दा बढी मृत्युदण्ड दिइएको दाबी गरेको छ।

समाचार एजेन्सी एएफपीका अनुसार गत मेको अन्त्यमा आतङ्कवादको आरोपमा दुई बहराइनीहरूलाई मृत्युदण्ड दिइएको थियो । गत वर्ष साउदी अरेबियाले कुल १४७ जनालाई मृत्युदण्ड दिने घोषणा गरेको थियो, जुन २०२१ मा भएको ६९ जनाको दोब्बर सङ्ख्या हो ।