काठमाडौँ– व्यवस्थापिका संसद्अन्तर्गतकाे अर्थसमितिले नेपालीसँग रहेका पाँच सय र एक हजार दरका भारतीय प्रतिबन्धित नाेट साट्न सहज व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

समितिकाे कार्यालय सिंहदरबारमा बिहीबार बसेकाे समितिको बैठकले नेपाली नागरिकसँग रहेका वैध भारतीय नाेट व्यवस्थापनका लागि शीघ्र प्रक्रिया थाल्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको हो।

समितिका सभापति प्रकाश ज्वालाले नेपालीसँग रहेको भारु साट्न कठिनाइ भएकाले सरकारलाई कूटनीतिक प्रक्रियाबाट समाधान गर्न निर्देशन दिने निर्णय गरेको बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकमा सहभागी सांसदले सीमा क्षेत्रका जनताको समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिए। उनीहरुले अर्थमन्त्रालय र राष्ट्र बैंकले विशेष पहल गर्नुपर्नेमा विचार व्यक्त गरे।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपाली जनतासँग भएका उक्त दरका भारु व्यवस्थापनका लागि भारतीय रिजर्ब बैंकसँग निरन्तर सम्पर्कमा रहेको भन्दै चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गरे।