काठमाण्डौ - रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ११ जनाको शव निकालेको नेपाली सेनाले जनाएको छ ।

सेनाले सामाजिक सञ्जालमा लेख्दै भोटेकोसीमा भदौ १० गते आएको बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी गर्ने क्रममा भेटिएका ११ वटा शव आज बाहिर निकालेको जानकारी गराएको हो । ती शवहरू सुरुङभित्र जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा फेला परेका हुन् ।

सेनाले हिजो पनि त्यही सुरुङबाट १३ जनाको शव निकालेको जानकारी गराएको थियो । बाहिर निकालिएका शवको थप व्यवस्थापन तथा पहिचानको प्रक्रिया अघि बढाउने सेनाले जनाएको छ । सेनाका अनुसार सुरुङभित्र खोजी कार्य अझै चलिरहेको छ ।