प्रकाश अधिकारी, पूर्व क्षेत्रकै सशक्त र सृजनशील युवामा चिनिुनुहुन्छ । कुशल नेतृत्व, मिलनशार, मिजासिला व्यक्तित्वका धनि रहनुभएका अधिकारी दमक क्षेत्रका विभिन्न दर्जनौं सामाजिक संघसंस्थामा आवद्ध हुुनुहुन्छ । हाल नेपाल जेसीजको राष्ट्रिय अध्यक्षको बलियो दाबेदारका रुपमा रहनुभएका अधिकारी दमक जेसीजका पूर्व अध्यक्ष हुँदै सन् २०१४ राष्ट्रिय उपाध्यक्ष र २०१५ मा कार्यकारी राष्ट्रिय उपाध्यक्ष भइसक्नुभएको छ । ४० वर्ष भन्दा कम उमेरका युवाहरूको नेतृत्व र व्यक्तित्व क्षमता विकासको अगुवाई गर्ने जेसीजका युवाहरूको बीचमा उहाँ निक्कै आकर्षक मानिनुहुन्छ । युवा–युवाको मन जोडेर समृद्धि राष्ट्र निर्माणका लागि जुटौं भन्ने अभियानमा रहनुभएका अधिकारीसँग गरिएको कुराकानी नेपाल जेसीजको अध्यक्षमा तपाईको उम्मेद्वारी किन ? –दमक जेसीजले स्थापनाको ३६ वर्षको इतिहासमा राष्ट्रिय महत्वका धेरै कामहरू गरिसकेको छ । आफ्नो सृजनशिलता र क्रियाशिलताकै कारण दमक जेसीजमा आवद्ध युवाहरूले नेपाल जेसीजका विभिन्न पदहरूको जिम्मेवारी पनि लिई सक्नु भएको छ । तर, राष्ट्रिय अध्यक्षको जिम्मेवारी लिने अवसर हाल सम्म दमकले पाएको छैन । त्यसैले यस पटक राष्ट्रिय अध्यक्षमा मेरो उम्मेद्वारी व्यक्तिगत मात्र  होईन । दमक जेसीजको संस्थागत उम्मेद्वारी हो । नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा निर्वाचित हुनेमा कतिको आशावादी हुनुहुन्छ ? –आशावादी भएरनैं उम्मेद्वारी दिईएको हो । देशभरका जेसीजका साथीहरूले साथ दिनुभएको छ । जहाँ जहाँ सम्पर्क भएको छ, भेट भएको सबै तिरबाट हौसला पाएको छु । दमक जेसीज एक ढिक्का भएर लागि रहेको छ । समाजका अन्य बिभिन्न क्षेत्रबाट पनि साथ र सहयोग पाइरहेको छु । दमक जेसीजको तर्फबाट उम्मेद्वार भएको व्यक्तिले राष्ट्रिय अध्यक्षमा निर्वाचित हुनु सिङ्गो दमककै गर्वको बिषय हुने भनेर समाजका अगुवाहरूले पनि भनि रहनुभएको छ । त्यसैले जित निश्चित छ भन्ने लाग्छ । तपाईको जीतका आधार के–के  छन् ? –जीतका आधारहरू प्रशस्त छन् । पहिलो कुरो त दमक जेसीजको आफ्नै गर्विलो इतिहास छ, नेपाल जेसीज भित्र । अर्को कुरा दमक जेसीज मार्फत बिजयी हुने अध्यक्ष बाहेकका सबैजसो पदहरूमा सफलता र कुशलतापूर्वक काम भएको छ । यसले पनि दमक जेसीजबाट आउने उम्मेद्वार सफल र कुशल हुन्छ भन्ने पुष्टि गरेको छ । यसैगरी हाम्रो राष्ट्रिव्यापी रूपमा स्थापित सम्बन्ध र सञ्जालले पनि हामीलाई साथ दिनेछ । मैले आफँैले पनि विगतमा राष्ट्रिय उपाध्यक्ष, कार्यकारी उपाध्यक्ष, यसै वर्ष पनि शान्ति र समृद्धिका लागि राष्ट्रिय अभियानको संयोजन गर्ने मौका पाएँ । त्यसैले दमक जेसीज र यसको उम्मेद्वारको जीत सहज छ भन्ने लागेको हो । जेसीजमा युवाहरू चाहिं किन आवद्ध हुने ? –जेसीज एउटा गैह्रसरकारी संस्था होईन । यो त विश्वव्यापी सञ्जाल भएको सिक्ने र सिकाउने थलो हो । यसबाट युवाहरूले नेतृत्व विकास, क्षमता विकासका बिभिन्न तालिम, गोष्ठि, भ्रमण लगायतका बिभिन्न अवसरहरू पाउने गरेका छन् । यस्ता अवसरहरूले समाजको जुनसुकै क्षेत्रमा क्रियाशिल भएता पनि आफूलाई स्थापित गराउन सजिलो हुन्छ । त्यसैले युवाहरूमा निहीत रहेका बिभिन्न क्षमताहरूको उजागर गर्न र समाजको जुनसुकै क्षेत्रको पनि नेतृत्वका लागि आवश्यक सीप, कौशल र ज्ञान हाँसिल गर्नका लागि जेसीज उपयुक्त थलो हो भन्ने लाग्छ । यी कारणहरूले गर्दा पनि जेसीजमा युवाहरू आवद्ध हुन आवश्यक छ । तपाईं नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा निर्वाचित भएमा के छन् त्यस्ता खास योजना ? –जेसीजले मात्रै त त्यस्तो धेरै केही गर्न सक्ने होईन । तर यसले सकारात्मक सोच, विधिको शासनको महत्व, लोकतान्त्रिक व्यवस्था प्रति युवाहरूलाई गोलबद्ध गराउने काम गर्दछ । मैले पनि जेसीजमा आवद्ध भएकै कारण जापान, अमेरीका लगायतका विभिन्न समृद्ध मुलुकहरूमा पुगेर केही ज्ञान, सीप हाँसिल गर्ने अवसर पाएको छु । त्यो ज्ञान र सीप नेपाल जेसीजका माध्यमबाट देशभरका युवाहरू बीचमा पुर्याउन चाहन्छु । त्यसैगरी एउटा संकल्प छ कि, जेसीजले नेतृत्व र व्यक्तित्व विकास, बिधिको शासनका लागि युवाहरूलाई जुन तालिम र प्रशिक्षण प्रदान गर्छ, त्यो सीप सामाजिक र राजनीतिक व्यक्तित्वहरूबीचमा पनि पुर्याउने छु । युवा–युवाको मन नजोडिए सम्म देश विकास र आर्थिक उन्नति सम्भव छैन । त्यसैले विकास र समृद्धिका लागि युवा मन मिलाउन पनि मेरो ध्यान केन्द्रित रहने छ । यस्तै, देशभित्र उद्यमशिलता को विकासका लागि बिभिन्न विकल्प र अवसरहरूको खोजीमा पनि नेपाल जेसीज लाग्ने छ । निर्वाचनबाट बिजय हांसिल गर्न तयारी कस्तो छ ? –जेसीजको मूल्यमान्यता अनुसार निर्वाचनको ४५ दिन अगावै उम्मेद्वारी दर्ता भइसकेको छ । योसँगै हामी देशभरका जेसीजमा आवद्ध युवाहरूबीचमा सम्पर्कमा छौं । भेटघाटमा छौं । जेसीजका देशभरका ४ क्षेत्र मध्ये पश्चिम तथा सुदुरपश्चिमबाट भेटघाटको योजना पनि बनिसकेको छ । हामी टिम नै विभिन्न स्थानमा पुगेर भेटघाट गर्दैछौं । यस बाहेक पनि दमकको सिंगो समुदाय दमक जेसीजको उम्मेद्वारले राष्ट्रिय अध्यक्षमा बिजय हाँसिल गर्नु पर्छ भनेर लाग्नु भएको छ । समाजका अन्य क्षेत्रमा आवद्ध व्यक्ति र संस्थाहरूले पनि आ–आफ्नो देशव्यापी सञ्जाल मार्फत सहयोग पुर्याई रहनु भएको छ । कोशी खबर बाट सभार गरिएको