चार दिनदेखि फोहर उठाउन थालेपनि काठमाडौँका मुख्य मुख्य चोक अझै पनि सफा हुन सकेका छैनन् । अठार दिनदेखि व्यवस्थापन हुन नसकेको फोहर गत बुधबारदेखि उठाउन थाले पनि कलङ्की, कालीमाटी, खसीबजारलगायत सडक किनारामा फोहरको डङ्गुर अझै उस्तै नै छ।
नियमित परेको पानी र हाल फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयवासीले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर गत साउन ३२ गतेदेखि उठ्न सकेको थिएन। लामो समयदेखि फोहर सङ्कलन भएर बसेकाले सबै एकैपटक व्यवस्थापन हुन नसकेको काठमाडौँ महानगरपालिकाको भनाइ छ ।
आगामी तीन दिनभित्रमा यसअघि जम्मा भएर बसेका सबै फोहर सिसडोल लगिने काठमाडौं महानगर पािलका वातावरण विभगका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । अहिले साविकअनुसार नै फोहर व्यवस्थापनको काम भइरहको छ । “धेरै दिनको सङ्कलित फोहर एकैपटक व्यवस्थापन गर्नुपर्ने भएकाले केही ढिला भएको हो, अहिले नियमितरुपमा फोहर उठिरहेको छ”, प्रमुख श्रेष्ठले भन्नुभयो । अठार दिनको अवधिमा करिब १५ हजार मेट्रिकटन फोहर जम्मा भएको बताइएको छ ।
हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको मात्र ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएको छ ।







