मेटा प्लेटफर्म (फेसबुक) को फोटो–सेयरिङ एप इन्स्टाग्रामले अब एकोहोरो किसिमले एप चलाउनेलाई छिन–छिनमा ब्रेक लिन सम्झाउने भएको छ । यसको ‘टेक अ ब्रेक’ फिचरले १०, २० र ३० मिनेटसम्म निरन्तर एप स्क्रोल गरिरहनेलाई केही बेर ब्रेक लिन सुझाव दिने छ । विशेषगरी १३ देखि १९ वर्षका ‘टिनएज’ समूहको मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै यस्तो व्यवस्था ल्याउन लागेको इन्स्टाग्रामले जनाएको छ । प्रयोगकर्ताले निश्चित विषयवस्तु मात्रै हेरे वा खोजेमा इस्टाग्रामले अन्य विषयको खोजी गर्न पनि सल्लाह दिनेछ ।

‘सामाजिक सञ्जालको विकल्पमा अन्य क्रियाकलापबारे पनि इन्स्टाग्रामले सम्झाउनेछ,’ इन्स्टाग्रामकी वैष्णवी जेलाई उद्धृत गर्दै ब्लुमबर्गले लेखेको छ, ‘पैदल यात्रामा जान वा लामो सास फेर्न सम्झाउनेछ ।’ आउने मार्चमा आफूहरूले प्यारेन्टल कन्ट्रोल फिचर (अभिभावकले निगरानी गर्न सक्ने व्यवस्था) सार्वजनिक गर्ने इस्टाग्रामका प्रमुख एडम मोसेरीले मंगलबार जारी गरेको ब्लगमा उल्लेख छ । ‘बाबु–आमा र अभिभावकले अब आफ्ना किशोरकिशोरी सन्तानले कति समय इन्स्टाग्राममा बिताउँछन् भन्ने हेर्न सक्नेछन् र समय सीमा पनि तोक्न सक्नेछन्,’ ब्लगमा भनिएको छ, ‘बच्चाहरूले कसैलाई रिपोर्ट गरेमा त्यो पनि अभिभावकले थाहा पाउनेछन् ।’

युवापुस्तालाई सामाजिक सञ्जालमा सुरक्षित राख्न यस्तो व्यवस्था ल्याउन लागेको इन्स्टाग्रामले जनाएको छ । कम्पनीले ‘लामो समय’ देखि सेफ्टी फिचरबारे काम गरिरहेको बताए पनि मेटा प्लेटफर्मबारे पछिल्लो समय बाहिर आएका हानिकारक खुलासापछि यस्तो घोषणा गरिएको द भर्ज डटकमले लेखेको छ । ‘ह्विसलब्लोअर फ्रान्सेस हगेनले सार्वजनिक गरेका आन्तरिक कागजातले देखाउँछ, इन्स्टाग्रामका व्यवस्थाले किशोरी प्रयोगकर्तामा बडी इमेज (यस्तै हुनुपर्छ भन्ने भाव) सम्बन्धी समस्या अझै विकराल बनाउँछ भन्नेबारे इन्स्टाग्राम सधै जानकार थियो,’ भर्जमा भनिएको छ, ‘यसै साता मोसेरीले सिनेट समितिमा जवाफ दिँदैछन् । त्यहाँ उनलाई सम्भवत: युवा प्रयोगकर्तामा इन्स्टाग्रामको असरबारे सोधिनेछ ।’