नव आगन्तुक हरुको सुन्दर सपनामय

मुहारहरुको माझमा मेरा नजर

कसैलाई खोज्दै थिए

एक गम्भीर रहस्यमय मुस्कानले

मलाई मुग्ध बनायो

त्यो गम्भीर मुस्कानको

रहस्यमय जादुभित्र

यति समाहित भएँ कि

तिम्रो घर जान मन लाग्यो

तिम्रो थर जान्न मन लाग्यो

तिम्रो घरमै पुगेर

तिमीलाइ जन्मदिने

तिमी बनाउन बिज दिने

भगवान हरुको दर्शन गर्न मन लाग्यो

अनि सोध्न मन लाग्यो

त्यस्तो बिज कसरी बन्छ?

मान्छेको शरीरबाट

देवता कसरी जन्मन्छ?

तिम्रा गम्भिर चन्चल नयनसँग

जब मेरा नयन पहिलोपटक

साक्षात्कार भए

हृदय फुलेर ढक्क भो

हावा चल्न बन्द भो

आवाज शुन्यमा बिलायो

समय टक्क रोकियो

आत्मा कृतज्ञ भो

जीवन सार्थक लाग्यो

जब मेरो जीवनमा

तिम्रो सामीप्य बढ्दै गयो

हर बिहान आशाको किरण

हर साँझ उमंगको लहर

लिएर आउथ्यो

तिमिले सोध्दा मेरा सपना

मैले भन्दा

जति उत्साहित हुन्थेँ नि!

तिम्रो सपना बिनाको जीवन

हरेक पल आउने यथार्थ लाइ

जिउन चाहन्छु भन्दा

तिमी सँगै यो जीवन

जिउँ जिउँ जस्तो लाग्थ्यो

तिमिले मनपराएका मान्छेहरु

तिमीले राम्रो देखेका हरेक चिजहरु

राम्रो लाग्न थाल्यो

तिमीलाइ मन नपर्ने हरुसँग

जोरि खोजौ खोजौ झैं लाग्थ्यो

सारा संसार भुलाएर

आँखा चिम्म गरेर

तिम्रो समिपमा सधैंभरि

जीवन समर्पण गरौं झैं लाग्थ्यो।

कसरी बिते ती दिन पत्तै पाइन

कसरी कटे ती रात यादै छैन

तिम्रा प्रेमीहरु धोखेबाज बन्दा

तिम्रा विश्वाशिला हरु

तिम्रो विरोधी बन्दा

तिम्रै अनमोल प्रेमका कुराहरूले

म अमुक बनेर हेर्न बाध्य थिएँ

तिम्रो उदार सोचको अगाडि

म यति नतमस्तक थिएँ कि

निश्वार्थ प्रेम भनेर मैले

कहिल्यै तिमिलाइ

प्रेम प्रस्ताव राख्ने आंट गर्न सकिन

जब तिमीलाई सम्झेर मैले

हरेक प्राणीलाइ प्रेम गर्न सिक्दै थिएँ

सेवाभावमा आफुलाइ

समर्पित गर्दै थिएँ

तिम्रो शरीर धुवाँ बनेर

प्रकृतिमा विलय भएको खबर पाएँ

हो त्यो त्यहि दिन हो

जुनदिनदेखि मैले तिमीलाइ

सधैंको निम्ति

आफ्नो हृदयको समिप पाएँ।

के धुवाँ हुनु भनेको

हृदयको झन नजिक हुनु हो?

सुवास सुवेदी

२०७८/९/२८