तत्कालिन नेकपा एमालेका सचिब रहेका प्रखर बक्ता तथा जुझारु युवा नेता योगेश भट्टराई यतिबेला नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटि सदस्य छन् ।
ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले एकिकृत भएको नेकपालाई यतिबेला काम गर्ने प्रशस्त अवसर र अधिकारलाई भरपुर सदुपयोग गर्नुपर्ने बताएका छन् । सरकारको भावी रणनीति र भर्खरै एकीकृत नेकपाको भावी योजनाबारे उनीसँग फ्रेशन्यूज नेपालका तर्फबाट सुकृत नेपालले गरेको कुराकानीः
अहिले दुई ठूला बाम पार्टीको एकतापछि आन्तरिक विवाद बढेर गएको पाइन्छ । यसको व्यवस्थापन कसरी हुन्छ ?
अब यो ठुलो पार्टी भयो । ठुलो पार्टी भएको हुनाले यसको आहारा पनि ठुलै हुन्छ । हात्तीको आहारा त ठुलै हुनेभयो । त्यसैले यसमा केही कुना काप्चाहरु अलि अलि नमिलेका पनि होलान् । त्यस्तो कुराहरु पनि देखिन्छ । यसमा मुख्य कुरा पार्टी एकता समयको माग, राष्ट्रको आवश्यकता र हामी सबैको चाहना अनुरुप भएको छ । यो स्वागतयोग्य छ । यो हुनै पथ्र्यो ।
यस क्रममा दुइवटा पार्टी एक ठाउँमा आइसकेपछि अवश्य पनि हामीले सोचे अनुसारका, हामीले चाहे अनुसारका जिम्मेवारीहरु नहुन सक्छ । त्यसमा केही न केही, कसैन कसैले, अलिकति बलिदान गरेन भने त पार्टी एकता भन्ने पनि हुँदैन । कहिलेकाहीं पार्टी एकताको बृहतर हितमा केहीअप्ठेरा हुन सक्छन् । त्यसलाई मिलाउँदै जानुपर्छ र मिलाइने छ । सबै नेता कार्यकर्ता जनसमुदाय र सिंगो मुलुकलाई सन्तुष्टि दिनसके पार्टी एकता स्थायी हुन्छ ।
तर, पार्टी भित्र नै बरिष्ट नेता तथा अग्रज नेताहरु वरीयता नमिलेकोमा आक्रोशित हुनुहुन्छ । खासमा यो के भइरहेको हो ?
त्यो कुरा हामीलाई थाहा छैन । किनभने निर्णय गर्ने ठाउँमा सबै बरिष्ट नेताहरु छन् । सबै बसेका थिए । आफैं निर्णय गरेका हुन । अब मिले पनि नमिले पनि हामीलाई त निर्णय सुनाइएको हो । हामीसम्म आइपुग्दा त हामीले यसो यसो गर्यौं, पार्टी एकता संयोजन समितिले यसो गर्यो, दुईवटा अध्यक्षले यसो गरे भनेर प्रस्तावहरु लिएर आए । हामीले यो निर्णय गरेका छौं तपाईहरुले यसलाई समर्थन गरिदिनुहोस् भनेपछि हामीले समर्थन गरेका हौ । त्यो भन्दा बाहेक हामीलाई केही थाहा छैन । यसमा केही नमिलेको छ भने उहाँहरु बसेर मिलाउनु पर्छ ।
तपाई पार्टीको सचिब जस्तो जिम्मेवार पदमा रही सकेको व्यक्तित्व । तपाईलाई यो एकताले आफ्नो राजनीतिक करियरमा धक्का लागे जस्तो भएको छैन ?
अहिले जिम्मेवारीहरु तोकिएका छैनन् । के जिम्मेवारी पाइन्छ त्यसै अनुसार हुन्छ । व्यक्तिगत हिसाबले पार्टी एकता गर्नुपर्छ भन्ने इच्छा र चाहना मेरो पनि हो । यसका निम्ति लामो समयदेखि हामीले सकेको योगदान पनि गर्दै आएका छौं । ठुलो पार्टीको सदस्य हुनु आफैमा एउटा सन्तुष्टिको कुरा हो । यसले अब देश हाँक्ने जिम्मेवारी पाएको छ, मुलुक बनाउने जिम्मेवारी पाएको छ । नेपालको सन्दर्भमा भन्ने हो भने यस्तो सुवर्ण अवसर सम्भवत कमै प्राप्त हुन्छ । नेपाल कम्युनिष्ट पार्टीले आज एउटा स्वर्ण अवसर पाएको छ, यसका नेताहरुले पाउनुभएको छ, हामी सबैले पाएका छौं । यसमा हामी सन्तुष्ट छौं ।
पार्टी अध्यक्ष ओलीले तपाईलाई मन्त्री बनाउछु भनेर दिनुभएको बचन पुरा गर्नुभएन नी ?
यो मन्त्री बन्ने–बनाउने कुराहरुसँग मेरो कुनै सम्बन्ध नै छैन । मेरो र मन्त्रीको बिचमा त्यति भेटघाट नै भएको छैन ।
तपाईलाई संगठनको हित विपरित बोल्ने गरेको र अनुशासन पालना नगरेको आरोप लाग्नेगर्छ । खास कुरो के हो ?
पार्टीमा बोल्ने स्वतन्त्रता हुन्छ । त्यसको एउटा सीमा भित्र बोल्ने, लेख्ने स्वतन्त्रता कै निम्ति हामी अडिएका हौं । पार्टीमा हामी यसकारणले भन्छौं कि यसको आम उदेश्य, कार्यक्रम कार्यदिशामा हामी एकमत हुन्छौं । हामी बिभिन्न क्षेत्रका मान्छेहरु पार्टीमा त्यो कारणले बसेका हुन्छौं । तर पनि मान्छेहरुका अलग अलग बिचारहरु पनि हुन्छ । त्यो ठुलो बृहत्तर उदेश्य भित्र मान्छेका केही आफना सोचाइहरु पनि हुन्छन् । त्यो स्वतन्त्रता समेत उपयोग गर्ने गरि नै हामी पार्टीमा हुन्छौं ।
त्यसमा पनि कम्युनिष्ट पार्टी हामी माक्र्सवादीहरु बिचार, छलफल, बहसबाट भाग्दैनौं । हाम्रो पार्टी भित्र यस्तो छलफल बिगतमा पनि भएको थियो । आगामी दिनमा पनि त्यो बिचार छलफल बिमर्शको स्पेस समाप्त हुँदैन भन्ने म ठान्छु । त्यसलाई अझै व्यवस्थित ढंगले अगाडि बडाउनु पर्छ । त्यसबाट भागेर, आत्तिएर पार्टी निर्माण हुन सक्दैन ।
दुई पार्टीको एकता दीर्घकालिन रहला ?
यो पार्टी एकता एकदमै दिर्घकालिन हुन्छ । यसले पार्टी मात्र एक बनाउँदैन । हाम्रो नेपाल राष्ट्रलाई नयाँ ढंगले एकिकरण गर्छ । हिमाल, पहाड, तराई, मधेश सबै जाती जनजातीलाई एक ठाउँमा उभ्याएर मुलुकको बिकासका लागि एउटा ठुलो महाशक्ति निर्माण गर्छ । त्यो अभियानको नेतृत्व पार्टी एकताले गर्छ । हामीले यो एकता पाँच दश वर्षको उद्देश्य राखेर गरेका होइनौं । आउने शताव्दीसम्म पनि यो एकतालाई अझ बलियो बनाउँदै जाने सोचका साथ हामी अगाडि वढेका छौं ।
स्थानीय स्तरसम्मको व्यवस्थापन गर्न धेरै चुनौतीहरु छन ? तपाईको विचारमा तल्लो स्तरमा पार्टीको व्यवस्थापन कसरी हुनुपर्छ ?
यसमा चुनौतीहरु छन् । ती चुनौतीहरुलाई जानेर बुझेर नै हामीले यो पार्टी एकताको प्रक्रियामा भाग लिएका हौं र अगाडि बडाएका हौं । हामीले एउटा निर्णय पनि गरेका छौं: अब तीन महिना भित्र सबै तहका पार्टी संगठनहरुलाई एकतावद्ध गरिसक्ने । मोर्चा संगठन, प्रवासमा पनि हाम्रा कमिटीहरु छन् त्यसलाई पनि एकतावद्ध गरिसक्ने भन्ने निर्णय भएको छ ।
हिजोका दुबै पार्टीका तर्फबाट कार्यदलहरु बनेका छन् । ती कार्यदलले सम्बन्धीत तहको एकताको मापदण्डको बारेमा सिफारिश गर्छ । त्यसको आधारमा हामी सबै संगठनहरुलाई एकतावद्ध बनाउँदै जान्छौं र तीन महिना भित्र यो काम हामी सकिसक्छौं ।







