मदन भण्डारीले ०४९ मा जनताको बहुदलीय जनवाद (जबज) सम्बन्धी कार्यक्रम एमालेको पाचौँ महाधिवेशनमा पेश गर्दा ‘अधिकतम प्रगतिशील सुधारको कार्यक्रम अबको कार्यनीति हुनेछ’ भनेका रहेछन्।
एमालेमा हुँदा होस् वा नहुँदा, हाल नेकपाको केन्द्रीय सचिवालय सदस्य रहेका बामदेव गौतमले ‘सामाजिक आर्थिक विकासको कार्यक्रम नै कम्युनिष्ट पार्टीको कार्यनीति हुनुपर्छ’ भन्ने दावी गर्दै आएका छन्।
स्थानीय तहको निर्वाचनताका जारी गरिएको होस् वा प्रतिनिधि सभा–प्रदेश सभा निर्वाचनताको निर्वाचन घोषणा पत्र, दुवैमा एमाले–माओवादी केन्द्रले रेल र पानी जहाज सञ्चालनलाई प्राथमिकतामा राखेका थिए।
तत्कालीन एमालेबाट दुवै चुनाव घोषणापत्र निर्माणको नेतृत्व गौतमले गरेका थिए। त्यसै आधारमा तत्कालिन एमाले–माओवादी केन्द्रको एकता संयोजन समितिले गौतमलाई समृद्धि र सुशासन सम्बन्धी कार्यदलको नेतृत्व समेत दिएको थियो।
त्यो कार्यदलको प्रतिवेदनमा पनि समृद्धि अन्तर्गत रेल र पानी जहाज सञ्चालनको विषयलाई प्राथमिकता दिइएको छ। यसबाहेक चुनाव लगत्तै सार्वजनिक भएको गौतमको पुस्तक ‘नेपाल निर्माणको महाअभियान’ मा पनि यिनै विषयको अत्याधिक चर्चा छ।
यसको मतलव के भने, गौतमको चासो कोरा राजनीतिक विषयबस्तु भन्दा समृद्धि र विकास केन्द्रित राजनीतिमा ढल्किन थालेको छ। र, उनले पार्टीलाई यतैतिर डोर्याउने प्रयास गर्दै आएका छन्, आफ्नो प्रभावले भ्याएसम्म।
५ जेठमा उनीसँग लामो कुराकानीका क्रममा समृद्धि र विकास सम्बन्धी विषयमा गौतमले बढी ‘इन्ज्वय’ गरिरहेका थिए। राजनीति केन्द्रित प्रश्नले खुम्चने बामदेव गौतमको अनुहार रेल र पानीजहाजका प्रश्न गर्दा फराकिलो हुन्थ्यो, जुन नेपालको कम्युनिष्ट नेतृत्व तहमा आउँदै गरेको परिवर्तनको संकेत पनि हो।
‘पार्टी एकतापछि राष्ट्रिय राजनीति कसरी अघि बढ्ला?’, गौतमले भने, ‘चुनाव घोषणापत्रमा जे भनिएको छ, ती कुरा लागू हुन्छन्। एकपछि अर्को गर्दै लागू हुँदै जान्छ। अब नेपालको स्वर्णयुग सुरु हुन्छ।’
सपना ठूलै देखाउनु भएको छ, पूरा होला त? सपना के देखाउनु? हामीले चाहिँ देखेका छौं। अरुले देखुन्, नदेखुन्, त्यो उनीहरुको खुसीको कुरा हो। सपना देख्नपनि नपाउने भन्ने हुन्छ? जिउँदो मान्छेले मात्र सपना देख्छ, मरेकोले देख्दैन। हामी जिउँदा हौं, त्यसैले सपना देख्छौं। र, जिउँदो हुन अरुलाई पनि सपना देख्नुस् भन्छु म। सपना देख्नै पर्छ। बिपनामा जे भोगेको हो, सपनामा त्यही कुरा त आउने हो।
बिपना कहिले राम्रो हुन्छ, कहिले नराम्रो हुन्छ। तर हामी राम्रो हुन चाहन्छौं। राम्रो हुनका निम्ति हामीसँगै सबै राम्रो कुरा छ। त्यसलाई सदुपयोग गर्नुपर्छ।
रेल र पानीजहाज साँच्चिकै आउँछन् कि सपना मात्र देख्नुभएको हो? मलाई जिम्मा देओस् न पार्टीले। म पानीजहाज चलाएरै देखाउँछु।
कहाँ चलाउनु हुन्छ? भारतसँग सी–पोर्ट (सामुद्रिक बन्दरगाह) लिजमा लिन्छु। त्यहाँबाट पानीजहाज चलाउँछु। चीनसँगपनि सी–पोर्ट लिजमा लिन्छु, त्यहाँबाट चलाउँछु।
ए, उतैउतै चलाउने? यहाँ मेचीदेखि महाकालीसम्म चलाउने हो र? पानीजहाज चल्ने त समुद्रमा हो नि!
पानीजहाज चलाएर के गर्ने त? कस्तो कुरा गर्नुभा’ हो? सारा संसारभरि हाम्रो देशको सामान पठाउन पर्छ कि पर्दैन? अनि संसारभरिको सामान ल्याउनुपर्छ कि पर्दैन? अनि तिनले पैसा कमाउन पर्छ कि पर्दैन? जसरी आकाशमा हवाइजहाज चलेपछि पैसा कमाइन्छ, त्यसैगरी पानीजहाज चलाएर पैसा कमाइन्छ। मान्छे ओहोरदोहोर गर्छन्, सामान ओहोरदोहोर गर्छन्। हामी त्यो सबै गर्छौं र व्यापार पनि गर्छौं।
आफ्नो देशमा बनेका सामानहरु सारा संसारमा पठाउँछौं। केही केही काम तुरुन्तै गर्न सकिन्छ, केही कामका लागि हामीलाई समय लाग्छ। बंगालको खाडी हुँदै गंगाबाट कोशीमा आउँछ। गंगामा जहाँ कोशी मिसिन्छ, त्यहाँ कोशी छरिएको छ, त्यहाँ तटबन्द बनाउँदै पानीलाई गहिरो बनाएर जहाज आउने बनाइन्छ।
संसारसँग हामी हवाईमार्गबाट जोडिएकै छौं, रेलबाट पनि जोडिदैछौं। त्यस्तो हामीसँग के सामान छन् र फेरि पानीजहाजबाट पठाउनुपर्‍यो? त्यसो भए यहाँबाट खुरुर्र इण्डिया गए भयो, त्यहाँबाट इण्डियाको प्लेन चढे भयो। हाम्रो प्लेन किन चढ्नुपर्‍यो। हटाइदिऊँ अब त्यसो भए हाम्रो प्लेन।
हामीलाई रेलपनि चाहिया’ छैन, किनभने इण्डियाको रेल चढे भयो। उतातिर चाइनाको रेल चढे भयो। नेपालको रेल किन चढ्नुपर्‍यो? यस्तो पनि हुन्छ कतै?
संसारमा समुद्र कति कति छ? पृथ्वीमा १ भाग जमिन छ, ५ भाग पानी। पानीमाथि हिँड्ने जहाज भए भने कति पैसा कमाइन्छ? तपाईंले ५–७ वटा जहाज राख्नुभयो भने त्यो जहाजले कमाई गरेर फुर्सदै पाउँदैन। यताको सामान उता लैजाऊ, उताको सामान यता ल्याऊ गरेर। मान्छे यहाँबाट ओसार, उताबाट ओसार। त्यसो गर्दा थुप्रो कमाइ हुन्छ। र, यसरी कारोबार गर्न पाउने अधिकार भूपरिबेष्ठित देशलाई हुन्छ।
तर, तपाईंकै पार्टीका नेता घनश्याम भूषालले रेल पानीजहाज हाम्रा अहिलेका आवश्यकता हुन्, होइनन् भन्नेमा बहस हुनुपर्छ भन्नुभएको छ नि? मैले भनेको कुरामा घनश्याम–सनश्याम नजोड्नुस् है१ घनश्याम जोड्ने, अर्को जोड्ने, फेरि अर्को जोड्ने नगर्नुस्। उहाँहरुले के भन्नुहुन्छ, उहाँहरुसँगै कुरा गर्नुस्।
तर, मेरो कुरा त किताबमै छ नि, पानी जहाज चलाउने कुरा।
भनेपछि विकास समृद्धिको राजनीति, रेल–पानीजहाज चलाउने योजनाको प्रारम्भकर्ता आफैं हुँ भन्ने तपाईंको दावी हो? विकास र समृद्धिको राजनीतिको सुरुवातकर्ता मदन भण्डारी हो। त्यो कुरालाई हाम्रा साथीहरुले बुझेनन्। ठूल्ठूला नेताहरुले पनि बुझेनन्। त्यसैले, मैले अगाडि सारें। मदन भण्डारीले सैद्धान्तिक रुपमा अघि सार्नुभयो, ‘प्रगतिशील सुधारको कार्यक्रम लागू गरेर हामी जानसक्छौं, त्यो पनि कार्यनीति हुन्छ’ भन्नुभयो। मैले अब हुने कार्यनीति त्यहीमात्रै हो’ भनें। ‘प्रगतिशील सुधारको कार्यनीति नै अबको कार्यनीति हो, लडाईं–युद्ध गर्ने होइन, वर्ग संघर्षको रुप परिवर्तन भयो, विकास र समृद्धिबाट अघि बढ्नुपर्छ भनें। तर, त्यसलाई एमालेले ०५४ मा असफल गराइदियो।
रेल र पानीजहाजको कुराले ओलीलाई लोकप्रिय बनाइदियो। रेल र पानीजहाज ल्याउनुपर्छ भन्ने योजनाको सुरुवातकर्तापनि तपाईं नै हो कि? मैले लेख्या’ छु। हाम्रो पार्टीभित्र लेखेर, विचार व्यक्त गरेर मैले यो कुरा गर्‍या’ छु। त्यो कुरा भन्ने म हो कि अर्को हो भन्ने किन चाहियो?
दुईटा नेताबीच फाटो परोस् भनेर तपाईं किन बोल्नुहुन्छ? नबोल्नुस् त्यसरी। अगुवा को हो भनेर तपाईंले हेर्नुस्, अगुवा जो हो, (रेल र पानीजहाजको कुरा गर्ने अगुवापनि) त्यही हो। कि तपाईंले आफैं खोज्नुस्, यो विचार कसले अगाडि ल्यायो भनेर। अगाडि कसले ल्यायो भन्ने किन मैबाट भनाउन चाहनुहुन्छ?
नेपालमा आज दुई शक्तिशाली कम्युनिष्ट पार्टी एकजुट भएका छन्। एउटा सशस्त्र संघर्ष, शान्तिपूर्ण संघर्ष सबै किसिमका संघर्षबाट खारिएर आएको पार्टी र अर्को जनयुद्ध नै भनेर १७ हजारको बलिदान र समर्पण गरेर आएको पार्टी एक ठाउँमा जम्मा भएका छन्। अब नेपालको एउटा युग सुरु भएको छ, त्यसलाई साँच्चिकै स्वर्णयुग बनाएर देखाउनु छ। यो नै सबैभन्दा ठूलो कुरा हो। त्यसैभित्र पानीजहाज चल्छ, त्यसभित्र रेलपनि चल्छ।
रेलपनि हामी के चलाउँछौं भने, त्यो इण्डियाले ‘ब्रोडग्रेज’ भन्छ, हामी त ‘हाइस्पिड इलेक्ट्रिक फाष्ट ट्रेन’ चलाउने हो। संसारको सबैभन्दा विकसित ‘टेक्नोलोजी’ बाट चलाउँछौं। अरुले छोड्दै–छोड्दै गएको सत्यजुगे रेल चलाउँदैनौं, हामी ‘हाइस्पिड इलेक्ट्रिक फाष्ट ट्रेन’ चलाउँछौं। एक पटक आँखा हेर्दाबित्तिकै झिप्प विजुली चम्केझैं चम्क्यो, अर्को पटक आँखा हेर्दा अर्को ठाउँमा पुग्यो। त्यस्तो हुन्छ, हामीले चलाउने रेल।
बिजुली चम्के जसरी आउने रेल उत्तरको केरुङतिरबाट आउँछ कि दक्षिणको रक्सौलतिरबाट? काठमाडौं जोड्ने रेलपनि त्यही हो। तलबाट जाने रेलपनि त्यही हो। त्यही किताबमा मैले आठ आठवटा रेल चलाउने कुरा गरेको छु, उत्तर–दक्षिण पाँचवटा र पूर्वपश्चिम पाँचवटा रेल।
यो सपना बिपनामा परिणत कहिले हुन्छ, तपाईंकै पालामा कि नातिको पालामा? तपाईंले पनि देख्न पाउनुहुन्छ। मैले पनि देख्न पाउँछु। यी सप्पै गरिसकेपछि मात्र म मर्ने हो। त्यो भन्दा पहिले म मर्नेवाला छैन।
कुनै रेल कम्पनीको मालिकपनि बन्ने योजना छ कि? रेल कम्पनीको मालिक नेपाल सरकार।







