लामो उडान भरेर थकित यात्री चराहरु,

कहिलेकाही बारीमा अन्न खान आउंछन,

परैबाट एउटा मानिस त्यहीँ उभिएको देख्छन

एकफन्को बारिमाथिनै घुमेर अर्कैतिर उड्छन

विचरा थकित भोका चराहरु

बुख्याँचा लाई नै, मानिस भनेर झुक्किन्छन।।

त्यसरिनै झुक्किएको छु म बारम्बार

कहिले बारुदको गन्धलाइ शान्तिको धुप सम्झेर

कहिले गोलिको गड्याङ लाइ, धर्ति सिचाँइ गर्ने

बर्षातको मेघ सम्झेर

कहिले रगतका खोल्सा हरुलाइ

मोक्षदायक पवित्र गङ्गा सम्झेर

हो, धेरैपटक झुक्किएको छु म त्यसरी नै जसरी

विचरा थकित भोका चराहरु बुख्याँचालाइ नै

मानिस भनेर झुक्किन्छन।

जस्तै महान शहिदहरु देशप्रेमको महान सपनाहरू सग,

अनि हामी निरीह जनताहरु, मिलेका दात देखाइ दाह्रा लुकाउने रक्तपिपासु हरु संग,

हो, पटकपटक झुक्किएका रहेछौं

नेता नामको बुख्याँचालाइ , हाम्रा सारा दुख हर्ने

देवता सम्झेर

ठ्याक्कै त्यसरी नै जसरी विचरा थकित भोका चराहरु

बुख्याँचालाइ नै मानिस भनेर झुक्किन्छन।