मेरो घरको मूलढोकामा तपाईलाई देखेर लुक्न मन लागेको छ। चोक-चोकमा पञ्चेबाजा बजाएर खुब नचाउनु भो रे कार्यकर्ता! लाजको यस्तो पसारो किन हो? को मरेको शोक गरूँ म, तर एकोहोरो शंख फुक्न मन लागेको छ। भन्न त नहुने हो तर आज भन्छु तपाईंको कुरूप छवि सम्झेर घोषणापत्रै माथि थुक्न मन लागेको छ।
सुखी नेपाली, समृद्ध नेपाल! तर झण्डामा स्वार्थ टाँसिएको देख्छु। स्मरणमा कति छ कुन्नी, 'आफ्नो त केही छैन, केवल जनताको लागि लड्छु' भनेको। रातैभरि सपना नराम्रा आउँछन्, विपनामा लोकतन्त्र मासिएको देख्छु। भन्न त नहुने हो तर आज भन्छु घर पोलेर भागेको शत्रुसित खरानीको लागि नाता गाँसिएको देख्छु।
हे दैव! प्रलय कस्तो आउँदैछ? बुद्धको काखमा अशान्ति भोग्नु परेको छ। नेताज्यू थाहा पाउनु भो? निर्मलाको फेरि बलात्कार भएछ नवराजको फेरि हत्या भएछ नारायणले उखुको मूल्य माग्दा, आफै जीवनको मूल्य तिर्नु परेको छ। अरूको के विलाप गराइ भो र, स्वयं संसदले अन्याय भोग्नु परेको छ। कस्तो अचम्म छ राजनीति पाइलापिच्छे नेतालाई उल्टै गलत कदम भो है भनी रोक्नु परेको छ। भन्न त नहुने हो तर आज भन्छु देशको अस्मिता लुट्ने पापी तिमी नै हौ तर दानवलाई देव सम्झेर ढोग्नु परेको छ। म जनता कतै खुसी छैन आज बुद्धको काखमा अशान्ति भोग्नु परेको छ।







